संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा आज न्यू स्टार र प्लानिक ब्वाइज भिड्दै

संखुवासभा -खाँदबारीमा सञ्चालन भइरहेको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा सुनसरीको न्यू स्टार क्लब र काठमाडौंको प्लानिक ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ। खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज दिउँसो हुने खेलमा दुवै टोली फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेका दुवै टोलीबीचको भिडन्त रोमाञ्चक हुने दर्शकले अपेक्षा गरेका छन् । प्लानिक ब्वाइज युनाइटेडले क्वार्टरफाइनलमा खाँदबारी युथलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। त्यस्तै, सुनसरीको न्यू स्टार क्लबले आयोजक एड्भान्स क्लबलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
दुवै टोलीका लागि यो खेल फाइनल प्रवेश गर्ने महत्वपूर्ण अवसर हुनेछ। एकातिर घरेलु मैदानमा आयोजकलाई पराजित गर्दै आत्मविश्वास बढाएको न्यू स्टार छ भने अर्कोतिर खाँदबारी युथलाई पाखा लगाएको प्लानिक ब्वाइज जितको लय कायम राख्ने योजनामा छ। खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने दर्शकको अनुमान छ।
यसैगरी, प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा संखुवासभाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच प्रतिस्पर्धा हुनेछ। लोहरुङ क्लबले क्वार्टरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
घरेलु जिल्लाको प्रतिनिधित्व गरिरहेका लोहरुङ र सेकाहामध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा विभिन्न जिल्लाका क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। 
प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड तथा सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ।
हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
आकर्षक पुरस्कार राशि र विभिन्न जिल्लाका बलिया टोलीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएका छन् । अब सबैको ध्यान सेमिफाइनलका दुई खेलमा केन्द्रित भएको छ। बुधबार र बिहीबार हुने यी खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ भने कात्तिक २० गते हुने फाइनलले संखुवासभा गोल्डकपको नयाँ च्याम्पियन निर्धारण गर्नेछ।

प्रतिकृया दिनुहोस