न्यू स्टारलाई २–१ ले हराउँदै सेकाहा सामुदायिक क्लबले जित्यो संखुवासभा गोल्डकपको उपाधि
संखुवासभा - सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संखुवासभाको सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा जित निकाल्दै सेकाहाले उपाधिसहित पाँच लाख रुपैयाँ पुरस्कार हात पारेको हो।
प्रतिस्पर्धात्मक खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि आक्रामक खेल प्रदर्शन गरेको सेकाहाका लागि मिलनले नै ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए।
दुई गोलले पछि परेको न्यू स्टारले खेलमा फर्कने प्रयास गर्दै दबाब सिर्जना गरेको थियो। सोही क्रममा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि न्यू स्टारले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै सन्दीप श्रेष्ठले ६०औँ मिनेटमा गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो।
खेलका क्रममा खेलाडीबीच मैदानमै हातहालाहाल भएपछि दुवै टोलीका खेलाडीले रातो कार्डसमेत पाएका थिए। त्यसपछि खेल थप तनावपूर्ण बने पनि सेकाहाले आफ्नो अग्रता जोगाउँदै उपाधि चुम्न सफल भयो।
उपाधिसँगै सेकाहा सामुदायिक क्लबले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू स्टार क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ। विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, सेकाहाकै गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक तथा न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए।
अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोलीको सहभागिता रहेको थियो।







प्रतिकृया दिनुहोस